धनगढी । बर्दिया राजापुरमा युवाकाे हत्या आरोपित एक जना कैलालीबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले तुलसीपुर–५ का महावीर चौधरीलाई कैलारी गाउँपालिका–५ को बैजपुरबाट पक्राउ गरेको हो ।
बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पु-याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वय गरेर पक्राउ गरिएको बताए । प्रहरीका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए÷नभएको पुष्टि हुन भने बाँकी छ ।
यो घटनामा हमार थारू रेष्टुरेन्ट सन्चालक बुद्धिप्रसाद चौधरी, उनकी श्रीमती र उनीहरूका छोरा राहुललाई प्रहरीले पक्राउ गरिसकेको छ । कैलालीबाट पक्राउ परेका महावीर चौधरी राहुलकै मोटरसाइकल लिएर फरार भएका थिए । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।