निर्वाचनको मुखमा मतदाता कामकाे खाेजिमा भारततर्फ

धनगढी। सरकार र राजनीतिक दल निर्वाचनको तयारीमा जुटिरहेका बेला मतदाता रोजगारीको खोजीमा भारततर्फ जान थालेका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकार र दलहरू तयारीमा अगाडि बढिसकेका छन् तर सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका ग्रामीण भेगका जनतालाई भने निर्वाचनभन्दा पनि गुजाराको चिन्ता छ । भारतको विभिन्न ठाउँमा अल्पकालीन समयका लागि काम गर्न जानेको नेपाल–भारत सीमानाकामा लर्को देखिन्छ । दसैँतिहार मनाउन आएका प्नि फर्किन थालेका छन् ।

पछिल्लो समय सीमानाकामा सुरक्षा चेकजाँचमा कडाइ भएकाले उनीहरू नाकामै घन्टौँ लाइनमा बस्ने गरेका छन् । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित राजीपुरका निर्मल चौधरीले आफूसहित गाउँका धेरै व्यक्ति भारतको रत्नागिरितर्फ लागेको सुनाए । आँपको बगैँचामा काम गर्न गाउँका ४०/५० जनाको एउटा टोली यसअघि नै गइसकेको बताउँदै उनले आफूहरू पनि सोही कामका लागि जान लागेको बताए । अब एकैचोटि जेठमा मात्रै घर फर्किने राजीपुरकै अर्का भानुराम चौधरीले बताए ।

कामकाे खाेजिमा भारत जानलागेका डोटीका ठम्मनसिंह बोहोराले फागुनमा हुने निर्वाचनमा हामीले भोट हाल्दैनौँ भन्दै भने, “हामी यहाँ हुँदैनौँ, कसरी भोट हाल्ने ? अनलाइन भोटिङको व्यवस्था भए उतैबाट भोट हाल्थेँ ।” प्रतिनिधि सभा सदस्यको चुनाव आउन अब तीन महिना मात्रै बाँकी छ तर स्वदेशमा रोजगार हुन नसकेका मतदाता भने यतिबेला बालबच्चासमेत बोकेर मजदुरीका लागि भारततर्फ गइरहेका छन्  ।

उनीहरूले मुम्बई, पुने, दिल्ली, हरियाणालगायतका सहरमा काम गर्ने गरेको बताएका छन् । रोपाइँपछि साउन, भदौमा स्याउ टिप्नका लागि हिमाञ्चल प्रदेश, सिम्लालगायतका ठाउँमा गएर चाडपर्व मनाउन फर्केकाहरू पनि अब आँपको बगैँचा स्याहार्ने, समुद्रमा माछा मार्नेलगायतका कार्य गर्न भारततर्फ गइरहेका छन् ।

आधा महिनाअगाडि मात्रै काम गरेर मुम्बईबाट फर्केका कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनियाँका दिलबहादुर रम्तेलले अब रत्नागिरि गइरहेको बताए । रत्नागिरिमा धेरै जसो नेपालीले समुद्रमा माछा मार्ने काम गर्छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.