विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनल प्रवेश

काठमाडौं । सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । जितसँगै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षीय रुपमा खेलमा हाबी बनेको थियो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २-२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । उनी म्याच अफ दी मेन घाेषित भए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.