धनगढी । सुदूरपश्चिम प्रदेशमा अपाङ्गता सम्बन्धी विद्यमान नीति, कार्यक्रम तथा सेवाहरूको प्रभावकारी कार्यान्वयनबारे धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालमा आयाेजित उक्त कार्यक्रम अपाङ्गता क्षेत्रको अवस्थाको समग्र मूल्यांकन गर्दै सुधारका सम्भावनाहरू पहिचान गर्ने उद्देश्य रहेकाे अध्यक्ष रमेशकुमार बस्नेतले बताए ।

कार्यक्रममा प्रदेशका उच्च सरकारी अधिकारीदेखि स्थानीय तहका प्रतिनिधि, सरोकारवाला तथा अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सामाजिक विकास मन्त्रालय तथा उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव, धनगढी उपमहानगरपालिकाका उपप्रमुख, सञ्चारकर्मी तथा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रम राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा तथा डिआरएफ को सहयोगमा गरिएको थियो। अन्तरक्रियामा सहभागीहरूले प्रदेशमा लागू भएका अपाङ्गता सम्बन्धी नीति, कार्यक्रम र सेवा प्रवाहका वर्तमान चुनौती, व्यवहारिक समस्या तथा आगामी सुधारका उपायहरूबारे विस्तृत प्रस्तुति राखिएकाे थियाे।
अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न सरकारी निकाय, स्थानीय तह र सरोकारवाला संस्थाबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष सहभागीहरूले साझा रूपमा प्रस्तुत गरे।
