काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका शहीद र घाइतेका माग सम्बोधन नभएको भन्दै एक युवक काठमाडौंको माइतीघर मण्डलामा ७ दिनदेखि आमरण अनशनमा छन् । विगतका राजनीतिक भूमिकाबाट टाढिएर स्वतन्त्र रूपमा आन्दोलनमा होमिएको दाबी गरेका यादव सिंह सरकारसँग चारवटा माग राख्दै आमरण अनशन बसेका हुन् ।
‘म भुइँमा रहेका जेनजी घाइते र शहीदको लागि अनशन बसेको हुँ । माग पूरा नहुन्जेल वा हुने ग्यारेन्टी नहुन्जेलसम्म अनशन छोड्दिनँ,’ उनले भने । यादव तिनै व्यक्ति हुन्, जो २३ भदौको प्रदर्शनमा संसद् भवनमा नेपालको झन्डा बोकेर उभिएका थिए । संसद् भवनको गेटबाट उनले अन्य प्रदर्शनकारीलाई पनि माथि चढ्न आह्वान गरिरहेका थिए । उनीसँगै अन्य व्यक्ति पनि संसद् भवनको माथि देखिए पनि उनको तस्वीर भने भाइरल बनेको थियो ।

जेनजी आन्दोलन, जसलाई तत्कालीन समयमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको युवा विद्रोहका रूपमा चिनिन्छ । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा प्रहरीले न्यूनतम बल प्रयोगको मापदण्ड उल्लङ्घन गर्दै गोली चलाउँदा शहीद र घाइते भएको भनाइ यादवको छ । त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि ती घटनामा संलग्नताको आरोप जेनजीहरूले लगाइरहेका छन् ।
यिनै पृष्ठभूमिका टेक्दै यादवले सरकारसँग तत्कालीन सरकारको नेतृत्व गरेका ओली र लेखकलाई कारबाही हुनुपर्ने माग राखेका छन् । २३ भदौको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले न्यूनतम मापदण्डविपरीत हतियारमुक्त प्रदर्शनकारीमाथि गोली चलाएकोले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तुरुन्त पक्राउ गरी सामूहिक हत्याको मुद्दामा कारबाही गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, शहीद र घाइतेका माग सम्बोधन गरिनुपर्ने अडान पनि यादवले राखेका छन् । आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल पूरा गर्नुपर्ने उनले बताए ।
