डडेल्धुरा। नेपालीहरुका महान् पर्व दसैँतिहार सकिएपछि सुदूरपश्चिमका विभिन्न स्थानमा देवीदेवताको पूजाआजासँगै जाँतको रौनक सुरु भएको छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत (मेला) हुने भएकाले यहाँ देवीदेउताका मन्दिरसँगै गाउँघरमा रौनकता छाउने गरेको छ ।
जाँतमा देवीदेवताको पूजाआजासँगै धामीको नाच, स्थानीय मौलिक बाजागाजा चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिने गरेको छ । तिहारपछि यहाँका गाउँघरमा अहिले दैनिक रुपमा कुनै न कुनै देवीदेवताको पूजाआज गरी जाँत हुने गरेका छन् । देवलोकमा देवताहरुसँग साक्षात् रुपमा वार्तालाप भएको अनुभूति वार्षिक पूजाआजाका बेला गर्न सकिन्छ । धामीमार्फत हुने भाका वैचालीमा धामी नभएको खण्डमा नयाँ धामी चुनिनेलगायत गाउँघरका धार्मिक परम्परा अनुसारका सबै कार्यका लागि वार्षिक पूजाआजा महत्वपूर्ण हुन्छन् ।
डडेल्धुराकाे अजयमेरू १ मा मात्रै तिहारको दाेस्राे दिन पासा बेताल पाँचाैदिन महरगाँउकाे भूमीराज समैजी षष्टिका दिन शैलेश्वर महादेव र कैलपाल समैजीको पूजाआजा गरिएकाे पूजारी देवीदत्त भट्टले जानकारी दिए । उनका अनुसार अष्ठमीमा भैरब जाँत नवमीमा कैलपाल र दशमीमा काेला समैजीकी जाँत हुनेछ ।
तिहार सकिएपछि यी देवदेवीसगै जिल्लाका उग्रतारा भगवती मन्दिर, भागेश्वर (धुरा), महादेव मन्दिर रुपाल, बडाल जाँत, खोलेई जाँत मुख्य मेलाको रुपमा लिने गरिन्छ । यस वर्ष उग्रतारा मेला (जेहिजाँत) कार्तिक १९ गते लाग्ने भएको छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ ।