घरमै आक्रमणमा परेका युवक मृत भेटिए, दुई जना पक्राउ

धनगढी। कैलालीमा मध्यरातमा घरमा आक्रमण गरेपछि भागेका युवक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गोदावरी नगरपालिका–१० ओलानीका ३५ वर्षीय शेरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले चौधरी मंगलबार गोदावरी र ओलानी  खोलाको दोभानमा मृत अवस्थामा भेटिएको बताए । प्रहरीकाअनुसार सोमबार राति दुई जना युवकले घरमै आक्रमण गरेपछि उनी भागेका थिए । भागेर बेपत्ता भएका चौधरी सम्पर्कमा नआएपछि खोज्ने क्रममा मृत फेला परेको डीएसपी चन्दले बताए ।

चौधरीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । सोमबार मध्यराति चौधरीको घरमा आक्रमण गर्न पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौधरीका छिमेकी समेत रहेका लक्की मल्ल र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका विकास मल्ल रहेको डीएसपी चन्दले बताए । उनकाअनुसार दुवै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.