कञ्चनपुर । दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कैलाली कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताए ।
“सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छ”, चौधरीले भने, “हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ । सखिया नाचमा महाभारतको इतिहास हुन्छ । यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ ।” यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उनले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिए ।
पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताए । थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उनको भनाइ छ ।
सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ । थारू भाषामा सखीको अर्थ साथीसँगी हुन्छ, गाउँका सबै साथीसँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताए । चौधरीका अनुसार नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङ्गको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन् ।
थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने भएकाले दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।