नेपालीहरुकाे बडादसैँ सुरु, आज घटस्थापना

धनगढी । हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आजदेखि सुरु भएको हो । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आजै दसैँ घरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ ।

विजयादशमीका दिन मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । यस्तै बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.