धनगढी सभाहल सञ्चालनमा नआउँदै ताेडफाेड

धनगढी । धनगढीमा निर्माण गरिएको सभागृह सञ्चालनमा नआउदै ताेडफाेडमा परेको छ । धनगढी उपमहानगरपालिका– ८ मा ३२ करोड बढीमा निर्माण गरिएको आकर्षक सभागृह जेनजी समूहको आन्दोलनका क्रममा तोडफोडपछि कुरुप बनेको हो ।

तीन वर्षअगाडि नै निर्माण भएको यो सभागृह हालसम्म सञ्चालनमा आएको थिएन । आन्दोलनकारीबाट तोडफोड भएपछि सभागृह सञ्चालनको विषय थप अनिश्चित बनेको छ । आन्दोलनकारीले सभागृहको सिसादेखि लिएर भित्रको संरचना तोडफोड गरेको वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले सभागृहको सिसामात्रै नभई भित्र पनि तोडफोड भएको बताए ।

सभागृहको सुरक्षामा खट्दै आएका निजी सुरक्षाकर्मीका अनुसार आन्दोलनकारीले सभागृहमा आगजनीसमेत गरेका थिए । उनीहरूले आगो लगाउँदा सभागृहको दुई वटा कुर्सी जलेको छ । आगो निभाइएकाले अन्यत्र क्षति हुन नपाएको निजी सुरक्षाकर्मीले बताएका छन् । आन्दोलनकारीलाई सम्झाइबुझाई गर्दा ठुलो क्षति हुनबाट जोगिएको उनीहरूको भनाइ छ ।

ठुला गोष्ठी, सेमिनार, कार्यक्रम आयोजना गर्ने उद्देश्यले सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा सभागृह बनाइएको थियो । सभागृहको गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एक बिघा जमिनमा बनेको सो सभागृह सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ ।

सभागृहमा ७५३ जना अटाउने मुख्य सभा हल, दुई सय क्षमताको सानो सभा हल रहेको छ । सभागृहमा अन्डरग्राउन्ड पार्किङ रहेको छ । यसै गरी भिआइपी कक्ष, चेन्जिङ कक्ष पनि रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा प्रदेश लगानी तथा विकास सम्मेलन यसै सभागृहमा गर्ने गरी तयारी अगाडि बढाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.