सडक निर्माणकालागि दवाव दिन गाेदावरीका ४ वटा वडा कार्यालय सडकमा

धनगढी । कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि दवाव दिन सडकमै वडा कार्यालय सञ्चालन गरिने भएको छ । गोदावरी नगरपालिका– ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय सञ्चालन गर्ने भएका हुन ।

४ वटै वडाका वडाध्यक्षहरुले बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबारदेखि वडाका काम कारवाहीहरु सडकबाटै सञ्चालन गर्ने बताएका छन । उनीहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरवाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिन लागेकाे बताए ।

गोदावरी– १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माणको काम ठेकेदारको लापरवाहीले गर्दा अलपत्र अवस्थामा रहेको बताए । उनले ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेपछि वडाबाटै दवाव दिने उद्देश्यले सडकमै वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए ।

‘सडकमा खाल्डा खुल्डीले गर्दा स्थानीयहरुलाई आवतजावतमा समस्या भैरहेको छ, त्यसैले सडक निर्माणको लागि दबाव स्वरुप हामीले भोलि (बिहिबार) देखि सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ ।’ उनका अनुसार सो क्षेत्रमा रहेका वडा नं. ३, १०, ११ र १२ ले संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडा कार्यालय स्थापना गर्नेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.