धनगढी। कैलालीको गेटामा स्थापित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्दै प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। विश्वविद्यालय सञ्चालनका लागि संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा, २०८० सालमा विधेयक पारित भई २०८२ जेठ ४ गते प्रतिनिधिसभाबाट स्वीकृत र राष्ट्रपति मार्फत प्रमाणीकरण भइसकेको उक्त विश्वविद्यालय अझै कार्यान्वयनमा आउन नसक्दा स्थानीयवासी निराश भएको भन्दै सरकारसँग ऐन कार्यान्वयन गर्न माग गरिएको छ। समितिले विश्वविद्यालयको संरचना तयार गर्न, पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र शैक्षिक कार्यक्रम सुरू गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
समितिले एमबीबीएस, नर्सिङ, अन्य स्वास्थ्य विज्ञानका अध्ययन कार्यक्रम सञ्चालन, ६ सय शय्याको अस्पताल सञ्चालन, प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापना लगायतका कार्य तत्काल सुरु गर्नुपर्ने माग गरेको छ। ज्ञापनपत्रमा संघर्ष समितिका संयोजक लोकेराज पाण्डे (आगो), सह–संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर छ।
ज्ञापनपत्र बुझाउन संघर्ष समितिका सदस्य र नागरिक समाजका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।