धनगढी । प्रशासनको चरम लापरबाहीले कैलाली कारागार रक्ताम्मे हुने गरी भयावह घटना भएको भन्दै चर्को आलोचना भएको छ । कारागार भित्र हातहतियार सहित भएको घटनापछि सुरक्षा निकायमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।
शुक्रवार मध्यरात कैलाली कारागार रक्ताम्मे हुने गरी दुई गुन्डा समूहबिचको साङ्घातिक झडप हुँदा एक जनाको मृत्यु छ भने ४९ जना घाइते भएका छन् । राति सुतिरहेका बेला ब्लक ‘ए’ का कैदिबन्दीले ब्लक ‘बी’ का कैदिबन्दी माथि अन्धाधुन्ध साङ्घातिक हमला गरेका थिए । झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । घाइते मध्ये गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौँ लगिएको छ । उनलाई नेपाली सेनाको स्काई ट्रक मार्फत भट्टलाई थप उपचारका लागि शनिवार साँझ काठमाडौँ गरिएको हो ।
कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिएको भन्दै अहिले चौतर्फी सुरक्षा निकाय माथि प्रश्न उठिरहेको छ । बिहीबार नै कैदीहरू बिच एक चरण झडप भएर पाँच जना घाइते हुँदा पनि बेवास्ता गर्दा शुक्रवार ठुलो घटना भएको देखिन्छ । कैदीबीच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन् ।
मृतकका आफन्तले नै कारागारभित्र सम्भावित अर्को घटना हुने आशङ्का सहितको सूचना पहिले नै दिएको बताएका छन् । तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता नअपनाउँदा ठुलो क्षति हुन पुगेको छ । कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह पछिल्लो समय गुण्डागर्दीमा संलग्न रहेका प्रहरी अधिकारीहरू बताउँछन् । यिनै समूहको झगडाको सिलसिलासँग कारागारको घटना भएको बताइएको छ ।
पछिल्लो पटक असारमा सिडिओ गोगनबहादुर हमाल कारागार निरीक्षणमा जाँदा ब्लक ‘ए’ मा मोबाइल फेला परेको थियो । त्यसपछि त्यहाँबाट सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएका थिए । त्यहीबाट सुरु भएको थप मनमुटाबले असार २८ गते पनि हिंसात्मक अवस्था सिर्जना गरेको थियो । जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । त्यहाँबाट सुरु भएको हिंसाको सिलसिलाले कारागारमा तनाव बढ्दा जिल्ला प्रशासन कार्यालयले कैदी बन्दीलाई अन्य कारागार सरुवासम्म पुगेको थियो ।
शुक्रवार पनि ‘ए’ ब्लकमा बस्ने ‘नन्दु सरकार’ समूहले भित्ता फोडेर ‘बी’ ब्लकमा सुतिरहेका कैदीमाथि अन्धाधुन्ध साङ्घातिक हमला गरेका थिए । उनीहरूले आक्रमण गर्दा खुकुरी, चक्कु, रड र जिममा सामग्री प्रयोग गरेको बताइएको छ । शुक्रवार रातिको घटनापछि दुवै ब्लक भित्र सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाएको जेलर रामप्रसाद चौधरीले बताए ।
गम्भीर लापरबाही
यसबिच मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रवार राति भएको घटनामा गम्भीर लापरबाही भएको औँल्याएको छ । मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिवार दिउँसो कारागारको निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख बिदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरबाही, क्षमता भन्दा बढी कैदी बन्दी र कैदी बन्दीको स्थानान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए ।