धनगढी । कैलालीकाे धनगढी र कैलारी पालिकाले आज मंगलबार स्थानीय बिदा दिएका छन् । यसअघि आईतवार मात्रै राना थारु समुदायले मनाएकाे तीज पर्वकाे बिदा दिएका यी पालिकाले आज पनि थारु समुदायकै गुरही पर्वका अवसरमा स्थानिय सार्वजनिक बिदा दिएका हुन्।
श्रावण शुक्ल पञ्चमी, (नाग पञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् । गुरही पर्व बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।