धनगढी । कैलाली, कञ्चनपुरका राना थारु समुदायले आज तिज पर्व मनाउँदै छन । यस समुदायका महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउन लागेका हुन ।

यो पर्वमा दिनभरि व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने त्यस क्रममा सावनकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ। यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरिन्छ।
राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक हुने गरेको छ । नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेपनि राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन् ।
यस पर्वको अवसरमा कैलालीको गोदावरी, धनगढी उपमहानगरपालिका लगायत कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्।
