कैलालीमा अबैध कार्यमा संङलग्न १६ जना परे प्रहरी फन्दामा

धनगढी । कैलालीमा अबैध कार्य गर्नेकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाे छ । प्रहरीले विहीबार मात्रै भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेकाे छभने लागुपदार्थ चरेस ओसारपसार गर्ने चार जना र तास खेलिरहेका १० जना जुवाडे गरी १६ जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेबाट अबैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको र पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेका छन् । यस्तै गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटेलबाट एक जना र गोदावरी नगरपालिका– १ भरतपुरबाट तीन जनालाई पक्राउ गरिएको हो ।

बझाङको छविसपाथिभारा गाउँपालिका– ७ का ३९ वर्षीय गगन बोहराको साथबाट एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै, गोदावरी नगरपालिका– १ भरतपुरस्थित पैदल हिडिरहेको अवस्थामा बैतडीको सुर्नया गाउँपालिका–३ बस्ने २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई शंका लागि चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

उता, टीकापुर नगरपालिका–२ बन्दीपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरूसँगबाट नगद ६७ हजार ५९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ । यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.