बाजुरामा जीप दुर्घटना ३ को मृत्यु, १६ जना घाईते

धनगढी । बाजुरामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छभने १६ जना घाईते रहेकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा सोही वडाकी ७६ वर्षीय विजौरा रोकाया, ७५ वर्षीय बाँचकला रोकाया र ३५ वर्षिया जुनेली रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कार्यालयका अनुसार बिजौरा र बाँचकलाको घटनास्थलमै मृत्यु भएको हो भने जुनेलीको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरी बताए ।

जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ । जीपमा सवार रहेका १९ जनामध्ये दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर छ भने तीन जनाको अवस्था सामान्य रहेको बताइएकाे छ । घाइतेको उपचारका लागि उद्दार गर्न नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

अहिले घाइतेको क्युडीको टुनीगडामा गाउँपालिकाका स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.