‘माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ : विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक लगाएपछि अब विद्या के गर्लिन् भन्ने चासो छ । उनी निकट नेताहरु भने– राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्नुपर्ने बताउँछन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर’ एमाले केन्द्रीय कमिटीले गरेको छ । हिजाे मध्यरात सकिएको एमाले केन्द्रीय कमिटी बैठकको यो निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन् ।

उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद (जबज)को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन् । स्थायी समिति सदस्य थापाले यो निर्णयको राजनीतिक रुपमा प्रतिवाद गर्ने बताए । उनले भने, ‘जे निर्णय भएको छ, शतप्रतिशत गलत भएको छ । हामी त्यसको राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउनबाट रोक्ने निर्णय जनताको बहुदलीय जनवाद र संविधानप्रदत्त नैसर्गिक अधिकारविरुद्ध भएको तर्क गर्दै एमालेका एक नेताले भने, ‘संविधान कानुन बमोजिम दर्ता भएर सञ्चालन भएको पार्टीले संविधान, कानुन विरुद्धका निर्णयहरु गर्न मिल्दैन । त्यसैले यसको कानुनी रुपमा पनि प्रतिवाद गर्नुपर्छ ।’

उसाे त पूर्वराष्ट्रपति भण्डारीले पनि एमाले केन्द्रीय कमिटी बैठकबाट आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय सार्वजनिक हुने संकेत पाउनासाथ निजी निवासमा पत्रकारहरु भेला गरेर चुप लागेर नबस्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘माझकिराँतकी छोरी हुँ । खुट्टा कमाउँदिनँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.