कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको छ । मंगलबार भारतीय निर्माण कम्पनीलाई साइट हस्तान्तरणसँगै भौतिक संरचना निर्माण अघिकाे काम सुरु भएको हो ।
सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का भएको कम्ट कन्सट्रक्सनलाई मंगलबार इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कम्ट कन्सट्रक्सनका प्रबन्ध निर्देशक सुनिल शर्मालाई निर्माणस्थल देखाउनुका साथै उक्त क्षेत्र सफा गरिएको थियो ।
‘औपचारिक रुपमा निर्माणको काम दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेपछि मात्रै सुरु हुनेछ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘अहिले साइट खाली गर्नेदेखि मुढाहरु निकाल्ने र कम्पनीको कार्यालय निर्माण लगायतको काम हुनेछ ।’ उक्त क्षेत्रमा मंगलबारदेखि नै कटान गरिएका रुखका मुढा उखेल्ने र झाडी सफा गर्ने काम सुरु भइसकेको छ ।
सुक्खा बन्दरगाह निर्माणका लागि कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको कन्सट्रक्सनका प्रबन्ध निर्देशक शर्माले बताए ।