कैदीकाे मृत्युमा आरोपीत सई पुर्पक्षकालागि कारागार चलान

धनगढी । जिल्ला कारागार, कैलालीमा कैदको मृत्यु प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए। बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको थियो। राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ वादी रहेका थिए। पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र श्रीमानको कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको हो। त्यसअघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.