
धनगढी । कैलालीको धनगढीमा पर्ने नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाल प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रबाट आईतबार उनीहरुलाई पक्राउ गरिएकाे कैलाली प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए। उनकाअनुसार पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ।
अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेकाे हाे। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
