धनगढी । कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारको क्रममा एक कैदीको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएकाे हाे ।
गठित समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। मृत्यु भएका व्यक्ति डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली हुन्। उनी बैंकिङ कसुर मुद्दामा १ असारमा पक्राउ परेका थिए।
२ असारको राति उनी कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही रात मृत्यु भएको हो।