सुपर ओभरकाे कीर्तिमान बनेको खेलमा नेपालले जाेगाउन सकेन जीत

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। निर्धारित २० ओभर र त्यसपछिका दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्सले बाजी मार्‍यो।

यो नेपालको १००औँ टी-२०आई खेल पनि थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाई नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो। १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल बराबरीमा सकियो र सुपर ओभरमा धकेलियो। 

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर नेदरल्याण्ड्सलाई २० रनको लक्ष्य दियो, तर नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएपछि यो सुपर ओभर पनि बराबरीमा सकियो। दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनायो। जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल तेस्रोपटक सुपर ओभरमा गयो।

तेस्रो सुपर ओभरमा पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंहले दुई बल डट खेलेर चौथो बलमा आउट भए। नेपालले कुनै रन जोड्न सकेन र नेदरल्याण्ड्सले १ रनको लक्ष्य पहिलो बलमै छक्का प्रहार गरेर जित हात पार्‍यो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.