धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली पहिलो बनेको छ । कैलालीले ३५ स्वर्ण पदक सहित लगातार चौथो पटक पहिलो स्थान हासिल गरेको हो ।
धनगढी रंगशालामा आयोजित प्रतियोगितामा कैलालीले ३५ स्वर्ण, १२ रजत र १० कास्य पदक सहित २५ हजार नगद पुरस्कार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा १७ स्वर्ण सहित कञ्चनपुर जिल्ला दोश्रो भएको छ । कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ । कञ्चनपुरले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ ।
यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ ।
आइतबार प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचीव डा. हेमराज रेग्मीले पुरस्कार वितरण गरेका थिए ।