धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका खरानी भएका छन् ।
आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’
उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए । बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो ।