धनगढी। टिप्परको ठक्करबाट धनगढीमा एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल उनको शव अस्पतालमै राखिएको छ।