काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टबाट मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।
सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।

भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ। साथै, अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि यसले सहजै छल्न सक्छ।
जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ। यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने, ‘लङ्ग कोभिड’ हुनसक्ने विज्ञहरूले बताएका छन्। यस अवस्थामा संक्रमित निको भइसकेपछि पनि केही लक्षणहरू लामो समयसम्म बाँकी रहन्छन्।
हाल अवस्था गम्भीर नभए पनि सावधानी अपनाउनु आवश्यक रहेकाे भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहल बताउद्छन्।
