धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार कार्यालय, कैलालीका प्रमुख अनन्त तिम्सिनालाई कुटपिट गरेकाे आराेप उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका लक्ष्मण धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्र सिंह धामी रहेका छन् । उनीहरूमध्ये प्रमुख धामीलाई कञ्चनपुर र अन्य तीन जनालाई धनगढी उपमहानगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।
धामीलाई धनगढी उपमहानगरले समेत २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेको भिडियाे सार्वजनिक भएकाे थियाे ।