धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धि दुई दिने पुनर्ताजकी तालिम दिइएकाे छ । अपाङ्गताकाे क्षेत्रमा काम गर्दैआएका सीआइएल काठमाण्डाैं, निडवान र मेरुदण्डिय पक्षघात समुहकाे संयुक्त आयाेजनामा कैलालीकाे धनगढीमा तालिम सम्पन्न भएकाे हाे ।
समावेशी बिकास बिना देशकाे समग्र विकास असम्भव हुने भएकाले अपाङ्गता समावेशी विकासमा जाेड दिन अपाङ्गता अभियान्ता तथा तालिम प्रशिक्षक मनिस प्रसाइले आग्रह गरे । उनले राष्ट्रिय तथा अन्तराष्ट्रय कानूनमा टेकेर स्थानीय तहहरुले आफ्नाे पालिका परिवेशकाे आधारमा छुट्टै अपाङ्गता नीति बनाएर जानुपर्ने आवश्यकता रहेकाे पनि उदाहरण सहित प्रस्ट्याए ।
बजेट तथा याेजनामा अपाङ्गता सम्बन्धी बारे भनेर मात्रै सिमित नराखी उसकाे शिक्षा स्वास्थ्य उपचार पुनर्स्थापना राेजगार संरक्षणमा राज्यकाे दायित्व रहने बताए । विभेदकाे पीडा सबैकाे एकै हुने भएकाले पीडितकाे पक्षमा सामाजिक अगुवासँगै सरकार मिलेर विभेद बिरुद्ध लड्नुपर्ने उनकाे जाेड थियाे ।
अपाङ्गतालाई दयामाया देखाएर ठूलाे पल्टिने प्रबृति बढिरहेकाे भन्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मान बहादुर साउदले उसका हकअधिकार कार्यान्वय गर्ने/गराउने नै सभ्य र महान हुने बताए । तालिममा अछाम, बझाङ, डाेटी, कैलाली, कञ्चनपुर लगायत जिल्लाका स्थानीय तहमा निर्वाचित २ दर्जनबढी घाईते अपाङ्ता भएका जनप्रतिनिधिकाे सहभागिता रहेकाे राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिब नरदीप धामीले जानकारी दिए ।