काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् । शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले बताए ।
सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले पठाएको एक पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार केही घण्टा जेलमा परेका थिए ।अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको समयमा उनले रेशम चौधरीलाई थुनामा राख्न भन्दै पत्रमात्रै काटेनन्, राष्ट्रपतिले अपराधको राजनीतीकरण गरेको आरोपसमेत लगाए ।
कैलाली जिल्ला अदालतबाट कैदी पुर्जी आउँदै गर्छ, अहिलेचाहिँ थुनामा राख्नु भन्दै पत्र लेखेपछि उनीमाथि नै छानबिन र कारबाहीको दायरमा आएका हुन् । विष्टलाई प्रहरीले बुधबार नै पक्राउ गरिसकेको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।