धनगढी । कैललीको अत्तरियास्थित दुर्गा मन्दिरमा गत चैत्र २६ गते राति भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै अभियुक्त बैतडीको डिलाशैनीका बोहरालाई सार्वजनिक गरेको हो ।
प्रहरीले बोहराले पैसा चोरेको रिसको झोकमा अत्तरिया बजारका सडक पेटीमा बस्दै आएका कैनीको हत्या गरेको स्वीकार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले चैत्र २६ गते राती मन्दिरका सुतेका कैनीको टाउकोमा ढुङ्गा प्रहार गरेर बोहराले हत्या गरेको बताए ।
मदिरा सेवन गरेका बोहरा रातीको समयमा मन्दिरमा सुत्न गएको बेला त्यही सुतेका कैनीको हत्या गरेको उनले बताए । राती उठ्दा आफ्नो ४ सय नभेटिएपछि बोहराले कैनीले चोरेको आशङ्कामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपितले बयान दिएको डिएसपी थापाले बताएका छन् । उनले सिसिटिभी फुटेजमा बोहरा चैत २६ गते साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेको देखिएको र मृतक कैनी ८ बजेर ५५ मिनेटमा मन्दिर भित्र प्रवेश गरेको तर बाहिर ननिस्किएको बताए ।
राति ९ बजेर ८ मिनेटमा बोहरा मन्दिर बाहिर आएर मदिरा लिएर पुन: ९ बजेर १३ मिनेटमा भित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा कैद भएको छ ।