धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ आज हुँदै छ । कैलालीको धनगढी रंगशालामा बेलुका ५ बजेदेखि सुरु हुने उक्त कार्यक्रम प्रत्यक्ष रुपमा हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ । यस्तै कार्यक्रममा मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । छ विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली परेका छन् । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् ।
यस्तै वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका, सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीकाय विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी, सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।