धनगढी । देश तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिए पनि प्रदेश संरचना भने कमजोर देखिएको छ । आफ्नो मौलिकतामा नभई संघीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठूलो आकारको बजेट ल्याउने प्रदेश सरकारहरू चालु आर्थिक वर्ष सकिन पाँच महिना बाँकी नरहँदा आफैँले ल्याएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेका छैनन्।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिलाई हेर्ने हो भने कुनै पनि प्रदेशले कुल बजेटको ३० प्रतिशत बजेट खर्च गरेका छैनन्। सात प्रदेशमध्ये बजेट खर्च गर्न सबैभन्दा असफल मधेस सरकार होभने सुदूरपश्चिम सरकार पनि आफूले ल्याएको बजेट खर्च गर्न सफल देखिएकाे छैन ।
यस बर्ष सुदूरपश्चिमले १४.८२ प्रतिशत बजेट खर्च गरेको छ। सुदूरपश्चिमझैं केन्द्रको सिको गर्दै ल्याइएको बजेट खर्चमा सबै प्रदेश सरकारहरू चुक्दै जाँदा प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ। मुलुक संघीय संरचनामा गएको एक दशक पुग्नै लाग्दा प्रदेश सरकारहरू केन्द्रको सिको गर्दै ठूलो आकारको बजेट ल्याउने र खर्च गर्न नसकेको अर्थविद डा. चन्द्रमणि अधिकारी बताउँछन्।
उनकाअनुसार प्रदेशमा बजेट कार्यान्वयन गर्न योजना र व्यवस्थापन हेर्ने प्राविधिक कर्मचारीसहितको जनशक्ति छैन। सरकारहरू समेत पटकपटक फेरिँदा र मन्त्रालयहरू टुटाउने, फुटाउने गर्दा पनि त्यसको असर परेको छ।
बजेट बनाउने शैली संघदेखि तल्लो तहको सरकारसम्मै ठिक नभएको उनले बताए। आफ्नो मौलिकतामा आधारित भएर बजेट बनाउने र खर्च गर्ने सामर्थ्य प्रदेश सरकारले राख्नुपर्ने उनको भनाइ छ।