
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
घट्ना अस्ति बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
धनगढीको एक विद्यालयमा अध्ययन गर्दै गरेकी बालिकालाई बाटो छेकेर युवकले चक्कु देखाई आफूसँग जबर्जस्ती गरेको दुःखेसो छ । युवकले डरत्रासमा पारेर आफूलाई घरमा लगी करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छन् ।
अभियुक्त पत्ता लागिसकेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । उनले भने, “अभियुक्त पत्ता लागिसकेको छ । पक्राउ गर्न प्रहरी परिचालित भएको छ।”
