बुटवललाई हराउँदै डडेल्धुरा पुग्याे फाईनलमा

धनगढी । सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको प्रवेश गरेको छ। कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा फ्रेन्ड्स क्लब डडेल्धुरा फाइनलमा पुगेको हाे।

शनिबार भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सवै विकेट क्षतिमा ८२ रनमा समेटियो। बुटवलका लागि आरिफ खानले सर्वाधिक २० रन बनाए। टीमका लागि दिपक डुम्रेले १८ रन र निश्चल ज्ञवालीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शुन्यमा आउट भए।

बुटवलको पारी ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । प्रतियोगितामा उनी ५ विकेट लिने तेस्रो खेलाडी भएका छन्। ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। बुटवललाई कम रनमा समेट्ने क्रममा अजय चौहानले पनि तीन विकेट लिए। हेमन्त धामी र अशोक धामीको नाममा एक एक विकेट रह्यो। ८३ रनको सामान्य लक्ष्य बोकेर मैदान उत्र्रिएको फेण्ड्स क्लब डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो।

डडेल्धुराका लागि ओपनरको रुपमा मैदान प्रवेश गरेका कुशल भुर्तेलले ४६ रनको पारी खेले। २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरे। पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आयुष्मान बमसँग ५६ रनको अर्धशतकीय साझेदारी समेत गरे। आयुष्मानले १६ रन बनाए। बुटवलका लागि प्रिन्स पलले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।

खेलमा ४६ रनको पारी खेल्दै पाँच विकेट लिएका डडेल्धुराका कुशल भुर्तेल नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए। प्रतियोगिता अन्तर्गत भोली दोस्रो सेमिफाईनलका खेल हुनेछ। भोली हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन्।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.