धनगढी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ ।प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन आश्रमले अनुरोध गरेकाे छ ।