काठमाण्डाैं । जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितमा आवाज बुलन्द पार्न गठित ‘प्रेस सेन्टर नेपाल’काे आज स्थापना दिवस मनाइदै छ । विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेकाे हाे ।
प्रेस सेन्टरको केन्द्रीय समितिको आयोजनामा आज बिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनले स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयोजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले सङ्गठनको पाँचौँ राष्ट्रिय महाधिवेशनको बारेमा ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनले बताए ।
प्रभातफेरीपछि आज आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष जुगल सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने प्रण उनीहरुले गरेका थिए ।