धनगढी । चालु आर्थिक वर्षको ६ महिना वितिसक्दा सम्म सुदूरपश्चिम प्रदेश सरकारले बजेटकाे १० प्रतिशत पनि खर्च गर्न सकेको छैन। प्रदेश सरकारले आधा वर्षमा विकास बजेटको ९ दशमलव ९८ प्रतिशत मात्र खर्च गरेको छ। यसबाट प्रष्ट हुन्छ अहिलेसम्मका सबै सरकारभन्दा याे सरकार सुस्त छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत अर्थात् विकास खर्च अत्यन्तै न्यून देखिएको छ। प्रदेश सरकारको २०८१/०८२ को श्रावणदेखि पुस मसान्तसम्मको अवधिमा पुँजीगत खर्च एक अर्ब ८७ करोड ११ लाख मात्रै छ। गत आर्थिक वर्षको भुक्तानी मात्र एक अर्ब बढीको रहेको छ।
चालु आर्थिक वर्षका कार्यक्रमहरू कार्यान्वयनको चरणमा लैजानसमेत प्रदेश सरकारले नसकेकाले विकास बजेट न्यून खर्च देखिएको हो। चालु आर्थिक वर्षको विकास खर्च ८७ करोडको हाराहारी मात्रै रहेको छ। चालु आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ।
प्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार छ। चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको १४ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकारले हालसम्म कुल बजेटमा चार अर्ब ६८ करोड ७० लाख पाँच हजार रुपैयाँ खर्च भएको हो।
प्रदेश सरकारको तलब, भत्ता लगायतको शीर्षकमा खर्च हुने चालु बजेटमा भने २१ दशमलव ९१ प्रतिशत खर्च भएको छ।