खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै

काठमाडौं । खो खो विश्वकपको उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दैछन् । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छन् ।

आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।

खो खो खेल खासै चर्चित नभएपनि पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको छ । कुनै हल्ला नगरिकन चुपचाप एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सनसनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा खो खो खेलको पनि चर्चा धेरै छ ।

फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.