धनगढी । कैलालीको गोदावरी धाममा कुम्भ मेलाको भव्य तयारी स्वरुप आजबाट १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला सुरु हुँदैछ। २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि चर्चित बनेको गोदावरी धाममा यस वर्ष ‘लघु कुम्भ’ अर्थात् बाह्र राशि मकर मेलाको आयोजना गरिएको हाे ।
जसको भव्य रुपमा तयारी भइरहेको छ । कुम्भ मेलाका लागि गोदावरी धाममा मञ्च निर्माण, स्नान कुण्ड, कलश निर्माण लगायतका संरचना निर्माण गरिएका छन् । मेलामा राशि अनुसार पूजा गर्नको लागि छुट्टा छुटै कलश राखेर पूजा गर्ने व्यवस्था गरिएको छ भने धाममा सरसफाइ गरेर चिटिक्क पारिएको छ ।
गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालमा महाकुम्भ मेला लागेपछि त्यसयता प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेलाको हुँदै आएको बताए । ‘यो एउटा लघु कुम्भ पनि हो । हाम्रो शास्त्रीय मान्यता अनुसार हाम्रो सम्पूर्ण ब्रमाण्डलाई बाह्र भागमा विभाजन गरेर बाह्र राशि विभाजन गरिएको छ । बाह्र राशिमध्ये कुम्भको योग कुनै एक राशिमा पर्ने र, त्यो ब्रमाण्डको जुनसुकै भागमा योग परेता पनि त्यसको एउटा अंश हामीले स्मृतिको रूपमा स्थापित गर्दै बाह्र राशि दर्शन मकर मेलाको आयोजना गर्दै आएका छौ’ उनले भने ‘यो कुम्भ मेलाकै लघु रूपमा हो । कुम्भ मेला एक, सवा महिनाको हुन्छ भने यो बाह्र दिनको हुन्छ ।’
मकर मेलाको पुस २९ गते (सोमबार) दिउँसो १ बजे समुद्घाटन गरिने उनले बताए । उनले २०८४ सालमा आयोजना हुन गइरहेको महाकुम्भ मेलाको प्रस्थान बिन्दुको शुभारम्भ पनि यसै वर्षबाट गर्न लागिएको बताए । उनले गोदावरीमा आउने प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताको रूपमा लिएर उनीहरूको सङ्कल्पबाटै २०८४ को महाकुम्भको आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले मेलाको कुम्भ बाटिकामा दीप प्रज्वलन गरिने बताए ।