थारू बस्तिमा माघीको राैनक बढ्दै

धनगढी । कैलाली-कञ्चनपुरको थारू गाउँमा माघी पर्वको राैनक बढ्दै गएकाेछ । माघ नजिकिएसँगै गाउँघरमा चहलपहल हुन थालेको हो । गाउँबस्तीमा माघको तयारीसँगै माघ महोत्सव, माघ मिलनलगायतका पर्वसँग सम्बन्धित कार्यक्रम हुन थालेका छन् ।

यसै गरी बस्तीहरूमा माघका गीत सङ्गीत गुञ्जिन थालेका छन् । माघमा गाइने परम्परागत मौलिक गीत गाएर बुढापाका रमाउन थालेका छन् । तीन दिनसम्म हर्षोल्लासपूर्वक मनाइने माघ पर्व पुस मसान्तका दिनबाट सुरु हुने गर्दछ । चाडपर्व नजिक आएसँगै गाउँघरमा माघको चहलपहल बढिरहेको धनगढी उपमहानगरपालिका-३, बडहराका भलमनसा लबरु चौधरीले बताए ।

माघ यो समुदायको सबैभन्दा ठुलो र स्वतन्त्रताको पर्व पनि हो । विगतमा मुक्त कमैया, कमलरी बसेकाहरूले माघ पर्वमा मात्रै मालिकका घरबाट बिदा पाउने गर्दथे । त्यसैले माघलाई स्वतन्त्रताको पर्वका रूपमा पनि लिने गरिन्छ । यसै गरी यो थारू समुदायको नयाँ वर्ष पनि हो । माघ पर्वमा गाउँघरको नेतृत्व गर्नका लागि भलमनसा बडघर छान्ने, विगतका कार्यको समीक्षा तथा मूल्याङ्कन गर्ने र आगामी दिनका लागि वार्षिक योजना बनाउने जस्ता कार्य हुने गर्दछ । 

माघी मुलुकको पश्चिम तराईमा बसोबास गर्ने थारू समुदायका मानिसले यो पर्वमा मघौटा नाचसमेत नाच्ने गरेका छन् । आफ्नो गाउँवासीले पनि हरेक वर्ष मघौटा नाच नाच्दै आएको जनाउँदै भलमनसा चौधरीले त्यसको तयारी भइरहेको बताए ।

माघका लागि दाउरा सङ्कलन गर्ने, वनबाट पात टिप्ने, दुनाटपरी बनाउने, जिता खोज्ने, कुटानीपिसानी र आवश्यक किनमेल गर्नेलगायतका कार्य हप्ता दिनअगाडिबाटै चल्ने गर्दछ । धुमधामसँग पर्व मनाउनका लागि यतिबेला थारू गाउँबस्ती माघको तयारीमा जुटेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.