पाेखरा। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ । बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए ।
बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । अदालतका स्रेस्तेदार राजन खनालले बिहीबार बाँकी जवाफी बहस हुने भन्दै “बुधवार जाहेरवालाको तर्फबाट जवाफी बहस भएकोमा बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ,” स्रेस्तेदार खनालले भने “सम्भवतः आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्छ ।”
न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दामा थुनछेक बहस जारी छ ।