
धनगढी । बझाङमा जन्मदिने आमाको परलोक भएपछि छोरीको पनि मृत्यु भएको छ। गत शनिबार थलारा गाउँपालिका–९ आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको थियो। आमाको मृत्यु खबरपछि धनगढी पढ्दै गरेकी २५ वर्षीया छोरी रोहिणीको पनि मृत्यु भएको छ।
आमाको दुर्घटनाको खबर सुन्ने बित्तिकै कैलालीको धनगढीबाट रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन्। उनले आमाको शव हेर्न निकै जिद्दी गरेकी थिइन। आमाको पार्थिव शरीर देख्ने बित्तिकै उनी बेहोस भइन्। ‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायो। स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि रोहिणी फेरि बेहोस भएकी थिइन।
सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुरमा उपचारको क्रममा उनकाे मृत्यु भएको हो। आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएकाले साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ। १५ दिनअघि मात्रै रोजगारीका लागि दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँन पुगेका छन्।
यस्तो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा सक्रिय महिला थिइन्। उनकी छोरी रोहिणी पनि उज्ज्वल भविष्यका लागि संघर्षरत विद्यार्थी थिइन्।
