धनगढी । ललितपुरमा एक जना किशोरको हत्या भएको प्रकरणमा प्रहरीले दार्चुलाका भट्टसहित तीन जना पक्राउ गरेको छ। सोमबार राति ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेमा सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरूङको हत्या भएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार गुरूङमाथि तीन जना व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार गरेका थिए। हत्या गरेको आरोपमा उक्त रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
एसपी पौडेलका अनुसार घटना बिल तिर्ने विषयलाई लिएर भएको देखिन्छ। घटनामा संलग्न व्यक्तिहरूसँग बिल तिर्ने विषयमा विवाद सुरू भएपछि चक्कु प्रहारसम्म हुन पुगेको प्रहरीले जनाएको छ।