धनगढी । धनगढीमा भोलिदेखि ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु हुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले जानकारी दिएकाे छ । महोत्सवको तयारी पुरा भएको भन्दै आयोजकले महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले गर्ने पत्रकार सम्मेलन गरी बताएकाे छ ।
महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका अध्यक्ष भीम पडालले जानकारी दिए । उनले महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना बताए । उनले भने ‘त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।’
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिएको बताए । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।
महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुनेछ । उद्घाटन अघि धनगढीको ट्राफिक चौराहदेखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभातफेरीको आयोजना हुने जनाइएको छ ।