निर्मला पन्तको घटना नयाँ विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी

धनगढी । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्षपछि प्रहरीले नयाँ पद्धतिबाट अनुसन्धान थालिएको बताएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले पन्तको घटनामा नयाँ शिराबाट अनुसन्धान सुरु गरिएको बताए ।

उनले भने, ‘यसअघि गठन भएका समितिहरूको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर थप ह्युमन इन्टेलीजेन्स विधिबाट अनुसन्धान अघि बढाउँदै छौँ ।’  यसअघि गठन भएका ८ वटा समितिले बुझाएको प्रतिवेदनको सार खिच्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी दीपक थापालाई दिइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, ‘सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूको नेतृत्वमा यसअघि पेस भएका प्रतिवेदन अध्ययन हुँदैछ ।’

यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक पद्धतिबाट मात्रै अनुसन्धान सम्भव नदेखिएको निष्कर्ष निकालेको उल्लेख गर्दै अधिकारीले भने, ‘पहिलेका प्रतिवेदनलाई पनि आधार मानेर ह्युमन इन्टेलीजेन्स विधिबाट अनुसन्धान अघि बढाउँदै छौँ ।’ कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ ।

यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २०८१ असार ३० मा भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’ अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताउने गरेका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.