धनगढी । विभिन्न कारणवस मानसिक विचलन भएर मनाेसमाजिक अपाङ्गता हुन पुगेकाहरुलाई उचित उपचार तथा काउन्सिलिङ्गबाट निकाे पार्न सकिने भएकाले उनीहरुलाई अवसरबाट बन्चित गरिनु नहुने धनगढीमा आयोजित मानसिक स्वास्थ्य र मनाेसमाजिक अपाङ्गता रणनीतिक कार्ययोजनासम्बन्धी प्रदेश सांसदसँग कार्यशाला गाेष्ठीका सहभागीहरुले जाेड दिएका छन् ।
समस्याबाट निकाे भैईसकेकाहरुलाई पनि अवराेध गरेर कानूनीरुपमै अवसर दिनबाट बञ्चित गरिएकाे र अव कानूनमै सुधार गरिनुपर्ने उनीकाे माग छ । मानसिक स्वास्थ्य समस्या हुनेहरुमध्ये ७० प्रतिशत व्यक्ति अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको नेपालमा मानसिक स्वास्थ्य समस्या बर्सेनि बढ्दै गएको कार्यक्रम आयाेजक काेसिस नेपालले बताएकाे थियाे। अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक मनोचिकित्सकको व्यवस्थापन हुननसक्दा यो समस्या थप गम्भीर बन्दै गएको उसको भनाइ छ।
नेपालमा अहिले औसतमा एक जना विज्ञ चिकित्सकले चार लाख ६० हजार जनाको उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। मानसिक स्वास्थ्यको मुख्य समस्याको रुपमा ‘डिप्रेसन’ र ‘एन्जाइटिस’ देखिएको छ । समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत ‘डिप्रेसन’ र ४० प्रतिशत ‘एन्जाइटिस’सँग सम्बन्धित समस्या हुने गरेको छ। पछिल्लाे तथ्याङ्कका अनुसार नेपालमा पाँच दशमलव दुई प्रतिशत १३ देखि १७ वर्ष उमेरका किशोरकिशोरी र दश प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानिसक स्वास्थ्य समस्या पाइएको छ। जटिल मानसिक रोगकै कारण बर्सेनि आत्महत्या गर्नेको दर पनि बढ्दो छ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमलाई स्वास्थ्य तथा सामाजिकका विभिन्न कार्यक्रममा मूलप्रवाहीकरण गर्न जरुरी रहेको बताए। उनले भने, “समाजमा गम्भीररुप लिँदै गएको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि ठोस रणनीति एवं योजना त्याएर कार्यान्वयनमा लैजान जरुरी भइसकेको छ।”
मानसिक स्वास्थ्यको समस्यालाई केन्द्रित गरेर गाउँ र वडा तहसम्म योजना बनाएर अघि बढ्न जरुरी भइसकेको भन्दै उनले यसकालागि सरकार र सराेकारवाला संघसंस्थाले एकद्वार निती लागु गर्नुपर्ने बताए । काेसिस संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक मातृका प्रसाद देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा
प्रदेशसभाका विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक श्राेत र सामाजिक विकास समितिका सदस्यहरु, प्रदेश नीति तथा आयाेगका तथ्याङ्क अधिकृत, मानवअधिकावादी, अपाङ्गता अधिकारकर्मी र मनाेसामाजिक समस्या भाेगेकाले आफनाे अनुभव सुनाएका थिए ।
विकासोन्मुख देशमा मानसिक स्वास्थ्य समस्या हुने कारणमा लडाइँ प्राकृतिक विपद्, दुर्घटना, गरिबी तथा आर्थिक भेदभाव, बालबालिकको आभिभावक विहीनता, एक्लोपना, लामो अवधिको तनाव वा शारीरिक अस्वस्थ्यता, लागुऔषधको कुलतलगायत देखिएका छन्।
