Dashain Suvakamana

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सप्ताहव्यापी मनाइने

धनगढी। सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्षकाे अन्तर्राष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्थागत राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेर तयारी थालेको हो । 

प्रदेश राजधानीसमेत रहेको कैलालीको धनगढीमा यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मङ्सिर १४ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रमसाथ मनाइने अध्यक्ष मानबहादुर साउदले बताए । उनका अनुसार साप्ताहव्यापी मनाइने कार्यक्रमलाई भव्य तथा व्यवस्थित रुपमा मनाउनका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थासँग छलफल गरेर विभिन्न उपसमिति बनाइएका छन् ।  

अन्तर्राष्ट्रिय दिवसलाई खुशीयालीका साथै आन्दोलनका रुपमा मनाउन गइरहेको भन्दै अध्यक्ष साउदले गतवर्ष झैं अपाङ्गता भएका युवाहरुको स्वरोजगार मेला मुख्य आकर्षक रहने बताए। उनका अनुसार धनगढी उपमहानगरपालिका गेट अगाडि तीन दिनसम्म प्रदर्शनी मेला तथा महोत्सव चल्नेछ । उक्त प्रदर्शनी मेला तथा महोत्सवमा ‘अपाङ्गता भएका व्यक्तिहरुको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरणको अभियान’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित लघु, घरेलु तथा साना उधोगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी मेला लाग्नेछ ।

यसका साथै सचेतनामूलक अन्तरक्रिया, लोकसांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य चेकजाँच, सीप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उनले जानकारी दिए।अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस यही मङसिर १८ गते मनाइँदैछ । यस वर्षको मूल नारा ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवर्द्धन’ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.