
धनगढी। धनगढी उपमहानगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन र महिलालाई स्वरोजगार बनाउने उद्देश्यले धनगढीमा शनिबारीय महिला उद्यम मेला सुरु गरेकाे छ । यो मेला अब धनगढीस्थित पार्कमोड क्षेत्रमा हरेक शनिबार लाग्नेछ ।
मेलामा ढकिया, झोलालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न सामग्रीसहित स्थानीय खानाका परिकार राखिएको थियो । पहिलो दिनको मेलामा मानिसको भिड देखिएको थियो । मेलामा स्थानीय खानाको परिकार राम्रैसँग बिक्री भएको धनगढी उपमहानगरपालिका –१५ सुर्मीकी विष्णुदेवी चौधरीले बताइन् ।
मेलामा थारु पहाडी परिकार सहित नेवारी, राना थारु लगायत विभिन्न समुदायमा प्रचलित खानाको परिकार राखिएको थियो । मेलाका लागि स्टलदेखि टेबलसम्म धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा महिलालाई उपलब्ध गराएको छ ।
मेलाले महिलालाई उद्यमशील बन्न प्रेरित गर्ने धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए । उनले अबको शनिबार धनगढी उपमहानगरपालिका मात्र नभई विभिन्न पालिकालाई मेलामा सहभागी गराउने जानकारी दिए ।
