धनगढी । जफत गरी राखेकाे तस्करीको सामान कवाडी व्यपारीलाई बिक्री गर्ने धनगढीकाे त्रिनगर प्रहरी चौकीका प्रहरी सहायक हवल्दारमाथि छानबिन सुरु भएको छ। प्रहरी सहायक हवल्दार विक्रम चन्दले नाैं महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा छानबिन टोली गठन गरि अनुसंन्धान थालिएकाे हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेपछि छानबिन गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार छानविन टोलीले पीडित भनिएका कवाड व्यापारी, त्रिनगर प्रहरी चौकीका प्रमुख शैलेन्द्र चन्द, स्थानीय तथा अन्य प्रहरी कर्मचारीहरुसँग सोधपुछ सुरु गरिरहेको छ। चन्दलाई हाल त्रिनगर प्रहरी चौकीबाट फिर्ता बोलाइएको छ। एक भारतीय कवाड व्यापारीले ३० हजार मूल्यमा कवाडीको सामान खरिद गरेको र २७ हजार तिर्न बाँकी रहेपछि चन्दले कुटपिट गरेको आरोपसमेत लागेको छ।
उनलाई पनि कैलाली प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। भारतीय कवाड व्यापारीले धनगढीका पसलहरुमा उक्त तस्करीको सामान बिक्री गर्दै आएका छन्।